Date: 23 September, 2013

बरु आधा गाग्रो पानी नभरेकै राम्रो

नफुल्ने त्यो फूल्को बीउ नछरेकै राम्रो
बर्ताएको गाई वन्मा नचरेकै राम्रो

नदीबीच पुगेपछि डगमगाएर
अलपत्र पर्नुभन्दा नतरेकै राम्रो

सजग भै सही दिशा लिन पनि हाम्रो
वैरीहरु बाँच्नुपर्छ नमरेकै राम्रो

सिद्धान्तमा अदृढ भै स्वार्थै–स्वार्थमा
बिक्नेसँग सहकार्य नगरेकै राम्रो

ठूलो गर्जनले मेघ गर्जिसकेपछि
छिटफुट पर्ने पानी नपरेकै राम्रो

छल्किएर बोक्न गाह्रो हुन्छ, त्योभन्दा त
बरु आधा गाग्रो पानी नभरेकै राम्रो

सुखमय होला त्यहाँ बाँच्ने जीवन त
आकाशका तारा तल नझरेकै राम्रो


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

...यसभित्र...